युवामंञ्च : २०७५ जेष्ठ : विषयगत प्रश्नोत्तर

खरिदार, तृतीय पत्रको नमूना प्रश्न र उत्तर
पूर्णाङ्क : १००समय : २ घण्टा ३० मिनेट
प्रत्येक खण्डका प्रश्नहरूको उत्तर बेग्लाबेग्लै उत्तरपुस्तिकामा “लेख्नुपर्नेछ। अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ।


खण्ड-क


निम्न प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस्।
१. नेपालको आर्थिक सामाजिक विकासमा भौगोलिक अवस्थाले के-कस्तो प्रभाव पारेको छ ? लेख्नुहोस् ।
उत्तर
हिमाल, पहाड र तराईमा अवस्थित नेपालको भौगोलिक अवस्थाले मुलुकको आर्थिक सामाजिक विकासमा निम्नानुसार प्रभाव पारेको छ : सकारात्मक प्रभाव पर्यटन व्यवसायको विकासमा सहयोग, आयआर्जन र रोजगारी वृद्धि हुने, अमूल्य जडीबुटीको प्रचुरता, औषधि उत्पादनमा सहयोग, हिमाल, पहाड र तराईमा कृषि उत्पादनमा विविधता, तराई अन्न भण्डार, औद्योगिक विकासमा सहयोग, हिमाल, पहाड खोला एवं नदीबाट आन्तरिक र बाह्य सीमाङ्कनमा सहयोग, हिमाल प्रमुख नदीहरूको स्रोत स्थल, अथाह जलप्रवाह, विकासको सम्भावना, स्वच्छ हावापानी, स्वच्छ वातावरण, यसबाट अनुकूल बसाइमा सहयोग,
नकारात्मक प्रभाव
भौगोलिक विकटता, सेवा सुविधा वितरणमा अवरोध, यातायातमा कठिनाइ,
हिमाल, पहाडको भौगोलिक अवस्थाले साधनस्रोतको न्यायिक वितरणमा समस्या,
हिमालमा ठण्डा हावापानीले कष्टप्रद जीवन, हिमाल पहाडमा छरिएर रहेको बस्तीले गर्दा एकीकृत बस्ती विकासमा कठिनाइ,
जनसङ्ख्या वितरणमा असन्तुलन, हिमालमा भन्दा पहाडमा, पहाडमा भन्दा तराईमा जनसङ्ख्याको चाप, बसाइसराइको अवस्था बढ्दो,
हिमाल, पहाडमा भौतिक पूर्वाधार विकासमा कठिन,
भौगोलिक विकटताले गर्दा विकास निर्माणमा बढी लागत लाग्ने गरेको अवस्था ।

२. राजनीतिक विभाजन भनेको के हो ? नेपालको राजनीतिक विभाजनका विशेषता उल्लेख गर्नुहोस्। (२+३) ५
उत्तर
देशको भू-भागलाई क्षेत्र, प्रान्त, अञ्चल, जिल्ला, इलाका आदि जस्ता प्रशासनिक एकाइमा विभाजन गर्ने कार्यलाई राजनीतिक विभाजन भनिन्छ। जनताको नजिकमा गएर जनतासँगै बसेर जनइच्छा बमोजिम जनताका सबै कार्य गर्न राष्ट्रिय एकता र अखण्डता थप बलियो हुने गरी देशलाई मुलुक सुहाउँदो विभिन्न प्रशासनिक एकाइमा विभाजन गर्ने गरिन्छ । यसले जनताको घर नजिकै सरकार भन्ने मान्यता राख्दछ । शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण, सन्तुलित विकास, सामाजिक सद्भाव, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, भौगोलिक सुगमता जस्ता पक्षमा ध्यान दिई मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्नु राजनीतिक विभाजनको मूलभूत उद्देश्य हो ।
नेपालको राजनीतिक विभाजनका विशेषताहरू
नेपालको संविधानले नेपाललाई सङ्घीय राज्यमा रूपान्तरण गरी मुलुकलाई सात प्रदेशमा विभाजन गरी सोही अनुरूप जिल्लाहरूको व्यवस्था गरेको छ । केन्द्रमा केन्द्र सरकार, प्रदेशमा प्रदेश सरकार र स्थानीय तहमा स्थानीय सरकारको व्यवस्था छ । यसले नेपाली जनताको घरघरमा जननिर्वाचित सरकार पु-याएको छ, नेपाली जनताबीच सामाजिक सद्भाव बढाएको छ, राष्ट्रिय एकता र अखण्डतालाई थप बलियो बनाएको छ। हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने भावना जगाएको छ । यो नै नेपालको राजनीतिक विभाजनको मौलिक विशेषता हो ।
यसका अरू विशेषतालाई यसप्रकार उल्लेख गर्न सकिन्छ :
भौगोलिक सुगमता हुने गरी जिल्लाको व्यवस्था, ७५ जिल्लाबाट ७७ जिल्ला कायम गरेर जिल्लाको विभाजनमा थप सुगमता बनाइएको, जनताको भावना समेटेर प्रशासनिक संरचना खडा गरिएको, जस्तै : सुदूर पश्चिमका नौ जिल्लालाई ७ नं. प्रदेश कायम गरिएको, विभिन्न जातजातिको बसोबास, जातिगत विविधता तथा सोमा एकरूपता हुने गरी राजनीतिक विभाजन गरिएको,सामाजिक सांस्कृतिक विविधताको संरक्षण तथा एकरूपतामा जोड दिइएको, । सङ्घीयताको मर्म अनुरूप राजनीतिक विभाजन कायम गरिएको, साधनस्रोत परिचालन तथा वितरणमा क्षेत्रीय सन्तुलन कायम गरिएको ।

३. चौधौं योजना (२०७३/७४-२०७५/७६) ले नेपालको शिक्षा क्षेत्रमा के-कस्ता उद्देश्य र रणनीति लिएको छ ? उल्लेख गर्नुहोस्।
उत्तर
चौधौं योजना(२०७३/७४-२०७५/७६) ले नेपालको शिक्षा क्षेत्रमा देहायका उद्देश्य र रणनीति लिएको छ
उद्देश्य :
क. शिक्षामा समतामूलक अवसर सुनिश्चित गर्दै शिक्षालाई सीपयुक्त, समय-सान्दर्भिक र गुणस्तरयुक्त बनाउनु,
ख. वैकल्पिक उपायको अवलम्बनबाट सबै तह एवं प्रकारको शिक्षा र सीपमूलक तालिममा पहुँच अभिवृद्धि गर्नु, ।
ग. शैक्षिक प्रशासनमा निरन्तर सुधार, नवप्रवर्तन र सुशासनलाई संस्थागत गर्नु,
रणनीति :
क. जीवनपर्यन्त शिक्षा, अनिवार्य आधारभूत शिक्षा तथा निःशुल्क आधारभूत र माध्यमिक शिक्षा पद्धतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने,
ख. रोजगारी र उद्यमशीलता विकास गर्न प्राविधिक र व्यावसायिक शिक्षाको विस्तार गर्ने,
ग. सबै तहको शिक्षाको गुणस्तरमा सुधार ल्याउने,
घ. आर्थिक रूपले विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच सुनिश्चित गर्ने,
ङ. उच्चशिक्षालाई पहुँचयोग्य, प्रतिस्पर्धी र अनुसन्धानमूलक बनाउने,
च. सार्वजनिक र निजी तहबाट प्रदान गरिने शिक्षाबीचको गुणस्तरमा रहेको अन्तर घटाउने,

४. सामाजिक मूल्य र मान्यता भनेको के हो ? चर्चा गर्नुहोस्।
उत्तर
समाज र समाजमा बसोबास गर्ने व्यक्तिको असल आचरण, सहयोगी व्यवहार, नम्रता, शिष्टता जस्ता असल सामाजिक चालचलन एवं बानी व्यहोरालाई सामाजिक मूल्य र मान्यता भनिन्छ । समाजमा एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने आदर, सत्कार, मायाममता, नम्र र शिष्ट भाषा, इमानदारी, नैतिकता, आज्ञापालना, अनुशासन, गरिब दुःखीमाथि सेवा सहयोग, मित्रवत् व्यवहार, सम्मान, मर्यादा आदि सामाजिक मूल्य र मान्यता हुन् । यो समाज र समाजमा बसोबास गर्ने व्यक्तिहरूको आचरणलाई राम्रो नराम्रो भनेर मूल्याङ्कन गर्ने तथा छुट्याउने आधार पनि हो । सामाजिक मूल्य र मान्यता व्यक्तिले समाजबाट सिकेर ग्रहण गर्दै जान्छ । सामाजिक मूल्य र मान्यताको विपरीत जाने व्यक्तिलाई समाजद्वारा अनैतिक मानिन्छ । यसले समाजलाई असल मार्गतर्फ लैजान र खराब व्यवहारबाट नियन्त्रण गर्न सहयोग गर्दछ । यो सामाजिक संरचनाको मूल आधार पनि हो । सामाजिक मूल्य र मान्यता समाजअनुसार फरकफरक हुनसक्छ ।सामाजिक मूल्य र मान्यता विशेष गरी धर्मद्वारा निर्देशित हुन्छन् । सामाजिक मूल्य र मान्यता समाजका सम्पूर्ण सदस्यका लागि अनिवार्य हुन्छ । यो सामाजिक नियन्त्रणको महत्त्वपूर्ण साधन पनि हो ।

५. सामाजिक द्वन्द्व भनेको के हो ? यसका कारण, असर र द्वन्द्व व्यवस्थापनका उपायबारे सङ्क्षेपमा उल्लख गर्नुहोस् ।
उत्तर
– जातजाति, भाषाभाषी, धर्मसंस्कृति एवं फरक पृष्ठभूमिका मानिसको कारणले समाजमा व्यक्ति तथा समूहबीच हुने वैमनस्य, मनमुटाव, विवाद एवं झगडालाई सामाजिक द्वन्दु भनिन्छ। सामाजिक द्वन्द्वका कारण गरिबी, अशिक्षा, सामाजिक चेतनाको कमी, – समझदारीको अभाव,
– साधनस्रोत, सेवा सुविधाको न्यायोचित वितरणको अभाव, शोषण, अन्याय, अत्याचार, जातीय विभेद, असर नकारात्मक असर : | आपसी झैझगडा हुने, युद्ध र काटमारको अवस्थाले विनाश हुन सक्ने, यसबाट समाजलाई ठूलो नोक्सानी हुन पुग्ने,
सकारात्मक असर :
समाज परिवर्तनको आधार तयार हुने, नराम्रा पक्ष हराएर जाने, नयाँ संस्कार र संस्कृतिको विकास हुने, समाजको आर्थिक सामाजिक विकासले गति लिन सक्ने, द्वन्द्व व्यवस्थापनका उपाय सामाजिक दुन्दु समाज परिवर्तनको आधार हो, त्यसैले यसलाई विनाशले होइन सिर्जनाले अन्त्य गरिनुपर्दछ । यसका लागि सर्वप्रथम के विषयमा द्वन्दु भएको हो सोको पहिचान गरी सरोकारवालालाई वार्ताद्वारा सम्झौता गर्नु गराउनुपर्दछ । आपसी समझदारीको वातावरण तयार गरी दुवै पक्षले केही त्याग गरी मिलन बिन्दुमा जानुपर्दछ । कसैले केही न केही त्याग नगरी मेलमिलाप हुँदैन, त्यसैले सबैको हितका लागि त्यागको शैली अपनाउनुपर्दछ। लिने र दिने नीति अवलम्बन गर्नुपर्दछ। उपलब्ध स्रोत साधनको न्यायोचित वितरण गरी अन्यायको अन्त्य गरिनुपर्दछ ।
यसबाट सामाजिक द्वन्दु हराएर यो दुन्दु सामाजिक विकासको आधार बन्न सक्छ ।

६. व्यवस्थापिका भनेको के हो ? व्यवस्थापिकाले गर्ने प्रमुख तीन कार्य उल्लेख गर्नुहोस् । (२ +३) ५
उत्तर
राज्यको कानुन बनाउने सर्वोच्च निकायलाई व्यवस्थापिका भनिन्छ। यो जनताका प्रतिनिधिको थलो हो । यस निकायमा राष्ट्रिय सरोकारका विषयमा विचार विमर्श हुने गर्दछ । सरकारको गठन र विघटन पनि यही निकायबाट हुने गर्दछ । यसमा जनताका प्रतिनिधिले जनताको प्रतिनिधित्व गरी जनताको हितमा कानुन निर्माण गर्दछन् । व्यवस्थापिकाले निर्माण गरेको
कानुनको आधारमा राज्य सञ्चालन हुने गर्दछ । व्यवस्थापिकाले गर्ने प्रमुख तीन कार्य
१. कानुन निर्माण गर्ने :
विधेयक पारित गर्ने, संविधान संशोधन गर्ने, ऐन संशोधन गर्ने, ऐन खारेज गर्ने,
२. सरकारको गठन गर्ने, नियन्त्रण गर्ने :
विश्वास र अविश्वासको प्रस्ताव पारित गरेर सरकारको निर्माण गर्ने, संसद्मा सरकारका कार्यवारे प्रश्न सोधेर, ध्यानाकर्षण प्रस्ताव राखेर, आलोचना गरेर, अविश्वासको प्रस्ताव राखेर सरकारको नियन्त्रण गर्ने, कार्यपालिका र सो अन्तर्गतको निकायलाई नियन्त्रण र निर्देशन गर्ने, सरकारको नीति तथा कार्यक्रमको समीक्षा गरी पारित गर्ने,
३. बजेट पारित लगायतका अन्य कार्य गर्ने :
बजेटमा दफावार छलफल गर्ने, पारित गर्ने, करका दर तोक्ने, खर्च नियन्त्रण गर्ने, संविधानअनुसार महाअभियोग लगाउने कार्य गर्ने, संसदीय सुनुवाइको कार्य गर्ने, बाधा अड्काउ फुकाउने आदेशको अनुमोदन गर्ने, संकटकालको अनुमोदन गर्ने, अन्तर्राष्ट्रिय सन्धि 
सम्झौताको अनुमोदन गर्ने ।

निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस् ।
७. नेपाली समाजमा देखिएका सामाजिक समस्या र विकृतिहरू के-के हुन् ? उल्लेख गर्दै त्यस्ता सामाजिक समस्या र विकृति निराकरण गर्ने उपाय लेख्नुहोस् । (५ +५) १०
उत्तर
सामाजिक समस्या र विकृति समाज विकासका अवरोध हुन् । यिनले समाजका अधिकांश मानिसलाई प्रभावित गर्ने र समाजको समग्र विकास तथा मानव सभ्यतालाई अवरुद्ध गर्ने भएकाले यी सामाजिक रोग पनि हुन् ।
नेपाली समाजमा खासगरी देहाय बमोजिमका सामाजिक समस्या र विकृति देखिएका छन् :
१. छुवाछुत प्रथा,
२. दाइजो प्रथा,
३. लागूपदार्थ दुर्व्यसन,
४. बालश्रम शोषण,
५. चेलीबेटी बेचविखन,
६. अन्धविश्वास,
७. देउकी प्रथा तथा झुमा प्रथा,
८. कमैया प्रथा,
९. छाउपडी प्रथा,
१०. भ्रष्टाचार, सामाजिक समस्या र विकृति निराकरण गर्ने उपाय
सामाजिक समस्या र विकृति समाजका उपज हुन् । त्यसकारण यिनको समाधानका उपाय साझा प्रयासबाट खोज्नुपर्दछ । नेपालमा उपरोक्त प्रकृतिका सामाजिक समस्या र विकृति मूलतः गरिबी र अशिक्षाका कारण भएको पाइन्छ। यसको लागि रोजगारीको सिर्जना गर्नुपर्दछ, शिक्षा र जनचेतनाको विस्तार गर्नुपर्दछ, यस्ता सामाजिक समस्या र विकृति निराकरण गर्ने अरू उपाय निम्न छन् : लैगिक विभेद एवं असमानता कम गर्ने, महिलामाथि हुने हिंसा घरदेखि नै अन्त्य गर्ने, दुर्गम सुगम सबै स्थानमा महिला शिक्षा तथा प्रौढ शिक्षामा जोड दिने, संविधान, ऐन नियम कानुनले महिलालाई दिएका हक अधिकार जानकारी गराउने र तीनको पालना गर्ने, गराउने, हिंसापीडित महिलाको उद्धार र पुनःस्थापनाका लागि पर्याप्त स्रोतसाधनको व्यवस्था गर्ने, दाइजो प्रथा, छुवाछुत प्रथा, छाउपडी प्रथा, भ्रष्टाचार जस्ता विकृति हटाउन सामाजिक अभियान सञ्चालन गर्ने, राजनीतिक तहबाट यस कार्यको अगुवाइ हुनुपर्ने, गरिव उन्मुख आर्थिक सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्ने, समाज सुधारका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाबीच समन्वय कायम गर्ने, सरकारी अनुगमन कार्यलाई प्रभावकारी बनाउने, कानुन विपरीत कार्य गर्नेलाई कडा कारबाही गर्ने । अन्त्यमा, नेपालमा सामाजिक समस्या र विकृति गरिबी, अशिक्षा र अस्थिरताबाट भएको देखिएकाले यसको सम्बोधन भएमा यस्ता सामाजिक समस्या र विकृति स्वतः हराएर जाने आशा गर्न सकिन्छ ।


खण्ड -ख


निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।
८. धूमपान भनेको के हो ? यो कुलतमा लाग्नुका कारण, यसको असर र यसबाट बच्ने उपाय सङ्क्षेपमा उल्लेख गर्नुहोस् ।
उत्तर
सुर्ती र सुर्तीजन्य पदार्थलाई धूवाँका रूपमा प्रयोग गर्नुलाई धूमपान भनिन्छ । सुर्तीमा हुने निकोटिन र अन्य रासायनिक तवले शरीरका विभिन्न भागमा असर पुयाएको हुन्छ । धूमपानले मानिसको कार्यक्षमतामा ह्रास ल्याउने, अल्पायुमै मृत्यु हुने वा लामो समयसम्म रोगी बनाउने गर्दछ । दम, खोकी, क्यान्सर, उच्च रक्तचाप, हृदयघात आदि जस्ता रोगको प्रमुख कारण धूमपान हो।
धूमपानको कुलतमा लाग्नुका कारण : अरूको देखासिकी, लहैलहै वा साथीहरूको दवाब तथा प्रभावमा आएर धूमपान गर्नु, घरका अन्य सदस्यले धूमपान गर्नु र पारिवारिक वातावरण पनि त्यसतर्फ प्रोत्साहित गर्ने खालको हुन्, धूमपानको असर खोकी लाग्ने, दम बढ्ने, छाती दुख्ने, श्वास गन्हाउने, शरीरको कुनै पनि अङ्गमा क्यान्सर हुन सक्ने, । मुटुको गति छिटो-छिटो चल्ने, रक्तचाप बढ्ने र हृदयघात हुने सम्भावना बढ्ने, | स्नायु प्रणालीमा असर पुग्ने तथा मस्तिष्कघात हुन सक्ने,
धूमपानबाट बच्ने उपाय – धूमपानबाट बच्न सर्वप्रथम व्यक्ति स्वयं सचेत हुने, – धूमपानको कुलतमा नफस्ने र फसेका साथीभाइलाई जोगाउने, सचेत गराउने, सार्वजनिक स्थललाई धूमपान निषेधित क्षेत्र घोषणा गर्ने, धूमपानको विज्ञापनमा प्रतिबन्ध लगाउने

९. जनसङ्ख्या व्यवस्थापन भनेको के हो ? जनसङ्ख्या व्यवस्थापन गर्ने उपायहरू के-के हुन् ? लेख्नुहोस् ।
उत्तर
साधन स्रोतको उपलब्धता अनुसार जनसङ्ख्या वृद्धि गर्ने र अभाव अनुसार जनसङ्ख्या नियन्त्रण गर्ने कार्यलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ। जनसङ्ख्या निरन्तर परिवर्तन भइरहने हुन्छ, यसलाई साधनस्रोत अनुसार व्यवस्थित गर्नुपर्दछ । साधनस्रोतले धान्न नसक्ने जनसङ्ख्या नियन्त्रण गर्नुपर्दछ भने साधन स्रोत परिचालन गर्न आवश्यक पर्ने जनसङ्ख्या वृद्धि गर्नुपर्दछ । यो नै जनसङ्ख्या व्यवस्थापन हो। साधनस्रोतको उपलब्धता र अभावले जनसङ्ख्या वृद्धि र नियन्त्रणको कार्यलाई प्रभाव पार्दछ । त्यसैले साधनस्रोतको तत्काल आपूर्ति गर्दा र भावी योजना बनाउँदा जनसङ्ख्या स्थिति विश्लेषण गर्नुपर्दछ । जनसङ्ख्या व्यवस्थापन गर्ने उपाय प्राकृतिक साधन स्रोत मासिँदै वा साँघुरिँदै गइरहने तर जनसङ्ख्या निरन्तर वृद्धि भइरहने हुँदा जनसङ्ख्या वृद्धिभन्दा जनसङ्ख्या नियन्त्रण गर्ने कार्य जनसङ्ख्या व्यवस्थापनको प्रमुख क्षेत्र बनेको छ। त्यसैले जनसङ्ख्या व्यवस्थापन अन्तर्गत जनसङ्ख्या वृद्धि नियन्त्रण गर्नु अहिलेको आवश्यकता देखिन्छ। निम्न उपाय अवलम्बन गरेर जनसङ्ख्या नियन्त्रण गर्न सकिन्छ ।
– उपयुक्त उमेरमा विवाह गर्ने, बालविवाह तथा
– बहुविवाह रोक्ने,
– ४,५ वर्षको जन्मान्तरमा बच्चा जन्माउने,
– छोराछोरी दुवै सन्तान हुन् । दुवैको बराबरी अस्तित्व स्वीकार गरी लैगिक समानता कायम गर्ने, छोरा र छोरीबीच विभेद नगर्ने,
– महिलाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने, परिवार नियोजनका स्थायी र अस्थायी साधनलाई सर्वसुलभ बनाउने, जनसङ्ख्या नियन्त्रण गर्ने किसिमका जनचेतनामूलक कार्यक्रम थप लागू गर्ने,
बसाइसराइलाई थप व्यवस्थित गर्ने,

१०. तीव्र जनसङ्ख्या वृद्धिका असरहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
उत्तर
छिटोछिटो जनसङ्ख्या बढ्ने कार्य दुत जनसङ्ख्या वृद्धि हो । देशमा रोजगारी, शान्तिसुरक्षा र विकास दिन सकेमा माग अनुसारको जनसङ्ख्या आवश्यक भए पनि बढी जनसङ्ख्याले मुलुकमा खासै हित गर्दैन । यसले स्वास्थ्य, शिक्षा, वातावरण एवं विकासका हरेक पक्षमा सकारात्मकभन्दा नकारात्मक असर गर्दछ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : बच्चा धेरै जन्माउने आमाको स्वास्थ्य अवस्था कमजोर हुने, धेरै बच्चाहरू हुँदा पालनपोषण एवं रेखदेखमा कमी हुने, गुणस्तरीय शिक्षाको अभाव हुने, खाद्यान्न अभाव हुन जाने, खानेपानी एवं आवासको समस्या सिर्जना हुने, बेरोजगारी समस्या बढेर जाने, वन विनासमा सहयोग पुग्न जाने, अव्यवस्थित शहरीकरण बढ्न जाने,

११. जैविक विविधता भनेको के हो ? यसको प्रकार र महत्वबारे सङ्क्षेपमा चर्चा गर्नुहोस् । (१ +१+३) ५
उत्तर
जीवित प्राणी एवं वनस्पतिमा फरकपन एवं भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता हो, करोडौं जीवात्मामा भएको फरकपन हो । मानिस, वनस्पति, पशुपन्छी, सूक्ष्म जीव आदिको भिन्न रूप जैविक विविधता अन्तर्गत पर्दछन् । जैविक विविधताको प्रकार जैविक विविधता निम्न ३ प्रकारको हुन्छ :
क. पारिस्थितिक प्रणाली विविधता,
ख. प्रजाति विविधता,
ग. वंशानुगत विविधता, जैविक विविधताको महत्त्व कृषिजन्य, पशुजन्य एवं वनस्पतिजन्य वस्तु उत्पादन वृद्धिमा सहयोग, जीवजन्तु एवं वनस्पतिको वंशाणु सुधार गर्न एवं तिनको अस्तित्व जोगाउन मद्दत,भू-क्षय हुनबाट रोकावट, माटोको संरक्षण, वातावरण सन्तुलन राख्नमा मद्दत, प्राकृतिक सौन्दर्यको वृद्धि गरी पर्यटन विकासमा सहयोग,
– धार्मिक एवं सांस्कृतिक स्थान जोगाइ राख्नमासहयोग,

निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस् ।
१२. सामुदायिक स्वास्थ्य भनेको के हो ? नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू पहिचान गरी यिनको समाधानमा व्यक्ति, परिवार र समुदायको के-कस्तो | भूमिका हुनुपर्दछ ? चर्चा गर्नुहोस् । (२ +४+४) १०
उत्तर
समुदायका व्यक्तिले आफ्नो समुदाय एवं समाजमा रहेका विभिन्न स्वास्थ्य समस्याहरू यकिन गरी व्यक्ति, परिवार, समाज तथा वातावरणको स्वास्थ्यमा सुधार ल्याउने कार्यलाई सामुदायिक स्वास्थ्य भनिन्छ। यसको मूलभूत उद्देश्य समुदायको स्वास्थ्यस्तर माथि उकास्नु हो । व्यक्तिले आफ्नो स्वास्थ्य सुधार गर्न व्यक्तिगत प्रयासबाट मात्र सम्भव नहुने हुनाले सामुदायिक स्वास्थ्यको अवधारणा अगाडि ल्याइएको हो । त्यसैले समुदायको स्वास्थ्य सुधार गर्न व्यक्ति, परिवार, समुदाय एवं राष्ट्र सबैको संयुक्त प्रयास | हुनुपर्दछ। नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू भौगोलिक कठिनाइ, स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव, औषधिको अभाव, दक्ष स्वास्थ्यकर्मीको अभाव आदि जस्ता कारणले नेपालको सामुदायिक स्वास्थ्य विभिन्न समस्याबाट ग्रसित छ । हिमाल, पहाड, तराई सबैमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी सामुदायिक स्वास्थ्य समस्या छन् । समग्रमा नेपालका | प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू निम्न छन् : सरुवा रोगजस्तैः झाडापखाला, हैजा, आउँ, जुका आदिको प्रकोप हुनु, शिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर उच्च हुनु, | सन्तुलित भोजनबारे जानकारी नहुनु, कुपोषण बढ्दै जानु, जीवनशैली अस्वस्थकर हुनु, स्वास्थ्य सेवाको कमी हुनु, स्वास्थ्य शिक्षाको कमी हुनु, – ग्रामीण बस्तीमा स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तिको अभाव हुनु, धूमपान, मद्यपान एवं लागूपदार्थको सेवन गर्नेको सङ्ख्या बढ्दै जानु, समग्र स्वास्थ्य सेवा महँगो हुनु, गरिवको पहुँचमा सर्वसुलभ हुन नसक्नु ।
सामुदायिक स्वास्थ्य समस्या समाधानमा व्यक्ति, परिवार र समुदायको भूमिका
क. व्यक्तिको भूमिका
सन्तुलित भोजन गर्ने, सुर्ती सेवन, मदिरा सेवनजस्ता बानी हटाउने तथा अरूलाई पनि हटाउन सल्लाह सुझाव दिने, नियमित शारीरिक व्यायाम गर्ने, खेलकुदमा संलग्न हुने, समय समयमा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्यसम्बन्धी आफूले जानेका कुरा अरूलाई सिकाउने र अरूले जानेका कुरा आफूले सिक्ने,
ख. परिवारको भूमिका
परिवार पहिलो पाठशाला भएकाले परिवारको खानपिनमा सुधार ल्याउने, बालबच्चालाई स्वास्थ्यसम्बन्धी राम्रो वानी व्यहोरा सिकाउने, स्वास्थ्य शिक्षाबारे परिवार एवं समुदायमा जनचेतना बढाउने, सामुदायिक स्वास्थ्यमा महिला सहभागिता बढाउन घरपरिवारवाट महिलालाई अनुकूल वातावरण तयार गरिदिने, | गाउँ, घर, वस्ती, टोलको सरसफाइ गर्न परिवारका सबै सदस्य क्रियाशील हुने, सहयोग गर्ने,
ग. समुदायको भूमिका 
व्यक्ति र परिवारले गर्न नसक्ने काम समुदाय मिलेर गर्ने, जस्तै : खानेपानी आपूर्ति, ढल निकास, सार्वजनिक सरसफाइ, वृद्धाश्रम, खेलकुद मैदान, पार्क, सार्वजनिक चर्षी आदिको निर्माण गर्ने, फोहोरमैला व्यवस्थापनमा सहयोगी एवं समन्वयात्मक भूमिका निर्वाह गर्ने, दुन्दु, झगड़ा नगर्ने, – सामुदायिक अस्पतालको स्थापना गर्ने,


खण्ड-ग


निम्न प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस्।
१३. फाइलिङको परिचय दिंदै यसको महत्त्वमाथि प्रकाश पार्नुहोस्।
उत्तर
कार्यालयमा भएका कागजात एवं चिठीपत्रको सुरक्षा गर्न तथा भविष्यमा सजिलै प्राप्त गर्न तिनलाई मिलाएर व्यवस्थित अभिलेख राख्ने कार्यलाई फाइलिङ भनिन्छ। यो कागजातको सुरक्षित एवं व्यवस्थित भण्डारण गर्ने कार्य हो । कार्यालयको सम्पूर्ण कार्यमा प्रभावकारिता ल्याउन सहयोग गर्ने फाइलिङको महत्त्वलाई निम्नानुसार प्रकाश पार्न सकिन्छ। कागजात एवं चिठीपत्रहरूको व्यवस्थित भण्डारण हुने, भविष्यमा आवश्यक पर्दा तुरुन्तै उपलब्ध गराउन सकिने, कागजातको गोपनीयता कायम हुने, फाइलिङमार्फत सेवा प्रवाहलाई छिटो छरितो एवं प्रभावकारी बनाउन सकिने, नीति, योजना एवं कार्यक्रम तर्जुमा गर्ने कार्यमा सहयोग पुग्ने,भविष्यमा आवश्यक पर्दा प्रमाणको रूपमा पेस गर्न सकिने, कार्यमा दोहोरोपना हुन नसक्ने, सूचना प्रवाह एवं प्रतिवेदन तयारीमा सहयोग पुग्ने, – अनुगमन र मूल्याङ्कनको कार्यमा मद्दत हुने ।

१४. छोटो टिप्पणी लेख्नुहोस्।
क. कार्यालयमा दर्ता र चलानी ख. दोहोरो लेखा प्रणाली ।   (२.५+२.५) ५
उत्तर
क. कार्यालयमा दर्ता र चलानी
कार्यालयमा आएका चिठीपत्र एवं कागजात प्राप्त हुनासाथ शुरुको अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ भने कार्यालयबाट बाहिर जाने चिठीपत्र एवं कागजातको अन्तिम अभिलेख राख्ने कार्यलाई चलानी भनिन्छ । कार्यालयमा दर्तामार्फत चिठीपत्र भित्रिन्छ भने चलानीमार्फत चिठीपत्र बाहिरिन्छ। दर्ताबाट कार्यालयमा कामको प्रारम्भ हुन्छ भने चलानीबाट कामको दायित्व अरूमा सार्ने गरिन्छ । कार्यालयमा पत्र दर्ता र चलानी गर्न दर्ता शाखा, चलानी शाखा, दर्ता किताब, चलानी किताब, दर्ता र चलानी गर्ने कर्मचारीको व्यवस्था गरिएको हुन्छ। कार्यालयमा पत्र प्राप्त हुनासाथ पत्र बुझ्नु अगाडि पत्र आफ्नो कार्यालयको हो होइन यकिन गर्नुपर्दछ । प्रेषकको नाम, ठेगाना, छाप, चलानी नम्बर र अन्य प्रक्रिया पुगेको छ छैन हेर्नुपर्दछ । कार्यालय प्रमुखले पत्रमा तोक आदेश लगाएपछि मात्र पत्र दर्ता गर्नुपर्दछ। दर्ताले कुन पत्र कहिले प्राप्त भयो, प्राप्त पत्र कहिले कुन शाखामा कसले बुझ्यो भन्ने थाहा हुन्छ । दर्ता गरेको पत्र हराउने सम्भावना कम हुन्छ। त्यसैगरी चलानीले कुन विषयको कुन पत्र कहिले कहाँ पठाइयो र कसले बुझ्यो भन्ने थाहा हुन्छ ।
ख. दोहोरो लेखा प्रणाली
आर्थिक कारोवारमा दुई पक्ष हुन्छन् । एउटा प्राप्त गर्ने र अर्को भुक्तानी गर्ने । आर्थिक कारोवारका यी दुवै पक्षको व्यवस्थित अभिलेख गर्ने कार्यलाई दोहोरो लेखा प्रणाली भनिन्छ। आर्थिक कारोवारका यी दुई पक्षमध्ये एउटा डेविट हुन्छ र अर्को क्रेडिट हुन्छ। दोहोरो लेखा प्रणालीले यी दुवैलाई प्रभाव पार्दछ । यसमा डेविट र क्रेडिट बराबर हुन्छ । आर्थिक कारोवारमा त्रुटि एवम् गल्ती हुन नदिनु, आर्थिक कारोवारको यथार्थ अवस्था पत्ता लगाउनु यसको मूलभूत उद्देश्य हो । यसलाई इटालीका ल्यूका पेसिओलीले सन् १४९४ मा प्रतिपादन गरेका हुन् । नेपालको वर्तमान लेखा प्रणाली दोहोरो लेखा प्रणालीमा आधारित छ।

१५. गोश्वारा भौचर, बैङ्क नगदी किताब र बजेट | हिसाबको परिचय र प्रयोगबारे सङ्क्षेपमा उल्लेख गर्नुहोस्।
उत्तर
गोश्वारा भौचरको परिचय र प्रयोग
आर्थिक कारोवारको प्रारम्भिक अभिलेख गर्न प्रयोग गरिने फाराम गोश्वारा भौचर हो। यो मलेप फा. नं. १० अन्तर्गत पर्दछ। यसलाई साधारण, पेस्की र विविध गरी ३ भागमा विभाजन गर्न सकिन्छ । यसमा डेविट र क्रेडिट पक्ष हुन्छन् र यी पक्ष बराबर हुन्छन् । कार्यालयमा गोश्वारा भौचर लेखा प्रमुखले तयार गर्ने र कार्यालय प्रमुखले सदर गर्ने गर्दछन् । कार्यालयमा यसलाई आर्थिक कारोवारको प्रारम्भिक अभिलेख गर्न, आम्दानी र खर्चलाई अरू खातामा व्यवस्थित अभिलेख गर्न, आर्थिक कारोवारमा हुन सक्ने त्रुटि एवम् कमजोरी पत्ता लगाउन तथा आर्थिक कारोवारमा सन्तुलन र नियन्त्रण कायम गर्न प्रयोग गरिन्छ ।
बैङ्क नगदी किताबको परिचय र प्रयोग
आर्थिक कारोवारमा नगद नियन्त्रण गर्ने खाता बैङ्क नगदी किताब हो । यो म.ले.प.फा.नं. ५ अन्तर्गत पर्दछ । यसमा नगद खाता, बैङ्क खाता, बजेट खाता, पेस्की खाता र विविध खाता गरी ५ वटा खाता र १७ वटा महल हुन्छन् । यसमा डेविट र क्रेडिट पक्ष बराबर हुन्छन् । यो नगद नियन्त्रण गर्न र आर्थिक कारोवारको अभिलेख गर्न प्रयोग गरिन्छ । यसमा गोश्वारा भौचरको कारोवारलाई चढाउने गरिन्छ।
बजेट हिसाबको परिचय र प्रयोग
कार्यालयमा बजेट नियन्त्रण गर्न प्रयोग गरिने खाता बजेट सिट हो । यो म.ले.प.फा.नं. ८ अन्तर्गत पर्दछ । यसमा वार्षिक बजेट, निकासा र खर्चलाई एउटै खातामा विस्तृत उल्लेख गरिन्छ । यो प्रत्येक आर्थिक वर्षको अन्त्यमा बन्द गरिन्छ । कार्यालयमा बजेट नियन्त्रण गर्न, निकासा र खर्चको लेखाजोखा गर्न तथा आर्थिक वर्षको अन्त्यमा आर्थिक कारोवारको वार्षिक प्रतिवेदन तयार गर्न यसको प्रयोग गरिन्छ।

१६. निजामती सेवाको छोटो परिचय दिनुहोस् ।
उत्तर
सरकारी राज्यकोषबाट तलव सुविधा पाउने, विशिष्ट ज्ञान, सीप, क्षमता भएका, स्थायी प्रकृतिका कर्मचारीहरूको पेसागत समूहलाई निजामती सेवा भनिन्छ। निजामती सेवा सरकारी सेवा हो । यसको मूलभूत उद्देश्य सरकारको नीति तथा कार्यक्रम जनतासमक्ष पु-याई देश र जनताको सेवा गर्नु हो । निजामती सेवा राजनीतिप्रति तटस्थ र सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिवद्ध हुन्छ। निजामती सेवामा कर्मचारीको उमेरको हद तोकिएको हुन्छ । सेवा अवधि निश्चित हुन्छ । सेवा सुरक्षाको कानुनी प्रत्याभूति हुन्छ । राजनीतिक शून्यतामा निरन्तर सेवा गर्ने भएकाले यसलाई स्थायी सरकार पनि भनिन्छ । राज्य सञ्चालनका सबै क्षेत्रमा काम गर्ने आम राष्ट्रसेवक कर्मचारीको समूह निजामती सेवा भए पनि नेपालमा सैनिक, प्रहरी, शिक्षक एवं सार्वजनिक संस्थानहरूको सेवालाई निजामती सेवाबाट बाहिर राखिएको पाइन्छ । संसद् सेवालाई संसद् सेवा ऐन र स्वास्थ्य सेवालाई स्वास्थ्य सेवा ऐनअनुसार सञ्चालन गरिए पनि व्यवहारमा ती सेवालाई निजामती सेवा मानिएको छ । नेपालमा निजामती सेवालाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि मुलुकको निजामती सेवा उद्देश्यअनुरूप व्यवस्थित, पारदर्शी, आधुनिक, जिम्मेवार एवं जवाफदेही भएको पाइँदैन ।

निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस् ।
१७. सार्वजनिक सेवा प्रवाह भनेको के हो ? नेपालको सार्वजनिक सेवा प्रवाह जनमुखी हुन नसक्नुका कारणहरू के-के हुन् ? उल्लेख गर्दै यसलाई जनमुखी बनाउने उपायहरू लेख्नुहोस् । (२ +४+४) १०
उत्तर
सरकारले सरल, सहज एवं कम खर्चिलो तरिकाले सर्वसाधारण जनताको घरघरसम्म सेवा सुविधा पु-याउने कार्यलाई सार्वजनिक सेवा प्रवाह भनिन्छ । जस्तै : शिक्षा, स्वास्थ्य, सुरक्षा, विद्युत्, सञ्चार, यातायात, नागरिकता प्रमाणपत्र, राहदानी आदि सरकारले उपलब्ध गराउने सार्वजनिक सेवा हुन् । सरकारले यस्ता सार्वजनिक सेवा सकेसम्म निःशुल्क नै वितरण गर्नुपर्दछ तर कतिपय सेवा सुविधा जस्तैः खानेपानी, विद्युत्, टेलिफोन आदिको निःशुल्क वितरण गर्दा राज्यको स्रोत साधनले नभ्याउने र दुरूपयोग हुने हुँदा सो रोक्नका लागि सामान्य शुल्क लिएर वितरण गर्नुपर्दछ भने त्यो बाहेक अरू सबै सेवा सुविधा निःशुल्क वितरण गर्नुपर्दछ । नेपालको सार्वजनिक सेवा प्रवाह जनमुखी हुन नसक्नुका कारणहरू नेपालमा सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि नेपालको सार्वजनिक सेवा प्रवाह जनमुखी हुनसकेको पाइँदैन । नेपालमा खासगरी राजनीति अस्थिर भयो, अस्थिर राजनीतिले सरकार स्थिर हुन सकेन, जसले गर्दा सरकारको नीति तथा कार्यक्रम प्रभावकारी लागू हुन सकेनन्, मुलुकमा बन्द, हड्ताल, चक्काजाम, चन्द्रा, भ्रष्टाचार, ढिलासुस्ती जस्ता विकृति देखिए, विकासमुखी राजनीतिक संस्कार भएन, सुशासनको अवस्था कमजोर भयो, भौतिक पूर्वाधार निर्माण र विकास भएन, गरिबी घटेन, जनतामा आशाभन्दा निराशा बढ्यो, यी र यस्ता कारणले नेपालको सार्वजनिक सेवाप्रवाह जनमुखी हुन सकेन,
यसका अरू कारणहरू निम्न छन् :
सार्वजनिक सेवाप्रवाह गर्ने सरकारी निकायबीच कार्यगत समन्वयको कमी हुनु, सेवा प्रवाहका प्रक्रियाहरू लामा र जटिल हुनु, ऐन नियमहरू सरल हुन नसक्नु,
सेवाप्रदायक जिम्मेवार र जवाफदेही हुन नसक्नु, यस्तो संयन्त्रसमेत नहुनु,
सेवाग्राही जनतामा चेतनाको कमी हुनु,
आफ्ना हक अधिकार र कर्तव्यबारे जानकारी नलिनु,
आधुनिक प्रविधिको प्रयोग कम हुनु,
सङ्गठन संरचना चुस्त दुरुस्त हुन नसक्नु,
सेवा प्रवाह कार्यमा संलग्न सेवा प्रदायकको सही मूल्याङ्कन हुन नसक्नु ।
नेपालको सार्वजनिक सेवा प्रवाहलाई जनमुखी बनाउने उपायहरू राजनीतिक स्थिरता, स्थिर सरकार, दृढ इच्छाशक्ति भएको राजनीतिक र प्रशासनिक नेतृत्व, व्यक्ति जो भए पनि फरक नपर्ने गरी सिस्टमले काम गर्ने कार्य प्रणालीको विकास, आधुनिक प्रविधिको उच्चतम प्रयोग, कानुनको शासन भएमा सार्वजनिक सेवा प्रवाह जनमुखी हुन्छ।
यी विषयका अतिरिक्त देहायका क्षेत्रमा पनि सुधार गर्नुपर्दछ ।
सोच, प्रवृत्ति, आचरण एवं व्यवहारमा सुधार गर्ने, ऐन, नियम, निर्देशिकामा सुधार गरी पूर्ण कार्यान्वयन गर्ने गराउने,
केन्द्रदेखि जनताको नजिकसम्म रहेर सेवा प्रवाह गर्ने संस्थागत संयन्त्रलाई छिटोछरितो बनाउने,
निर्णय तथा सोको कार्यान्वयनमा सुधार ल्याउने,
कर्मचारीको तलव सुविधा समसामयिक बनाउने, नियमित तालिमको व्यवस्था गर्ने,
सरुवा, बढुवाजस्ता वृत्ति विकासका पक्षमा सुधार गर्ने, अनुमानयोग्य बनाउने,
सरकारी क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज, मेडिया एवं सेवाग्राही जनताबीच कार्यगत समन्वय कायम गर्ने, सहकार्यमा जोड दिने,
एकद्वार सेवा एवं घुम्ती सेवा प्रणाली लागू गर्ने,
कार्य प्रणालीमा सुधार गर्ने,
गुणस्तर अभिवृद्धि गर्ने,
उपलब्ध स्रोत साधनको कुशल परिचालन गर्ने,
मितव्ययिता, पारदर्शिता एवं जवाफदेहिता कायम गर्ने,
अनुगमन तथा मूल्याङ्कनमा सुधार गर्ने,
सूचकका आधारमा अनुगमन गर्ने,
निकायगत समन्वय कायम गर्ने,
अन्त्यमा, सार्वजनिक सेवा सरकारी सेवा भएकाले यो जनमुखी हुनुपर्दछ, यसका लागि माथि उल्लेखित विषयमा सुधार गर्नुपर्दछ ।