युवामंञ्च : २०७५ जेष्ठ : वस्तुगत प्रश्नोत्तर

राष्ट्रिय-सन्दर्भ

१. वि.सं. २०७५ मा मनाइएको प्रथम राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ को नारा के हो ?
उत्तर
सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिको आधार

२. सन् २०१८ मेमा काठमाडाँमा सम्पन्न अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोगको आठौं एसियाली क्षेत्रीय सम्मेलनले कहिलेसम्म पानी सुरक्षित विश्व बनाउने घोषणा गरेको छ ?
उत्तर
सन् २०३०
(‘सदा हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा विभिन्न राष्ट्रका तीन सयभन्दा बढी व्यक्ति सहभागी भएका ।)

३. जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
उत्तर
७५० मेगावाट
आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चाइन थ्री गर्जेज इन्टरनेसनल बीच वि.सं. २०७४ कात्तिक ३० मा संयुक्त लगानीसम्बन्धी सम्झौता भएको । डोटी जिल्लामा पर्ने सो आयोजना निर्माणका लागि रु. एक खर्ब ८० अर्ब लागत लाग्ने अनुमान रहेको । आयोजना निर्माणमा नेपाल विद्युत् प्राधिकरणको २५ प्रतिशत र थ्री गर्जेजको ७५ प्रतिशत लगानी रहने।

४. राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडमा एनआइडिसी डेभलपमेन्ट बैङ्क लिमिटेड गाभिई एकीकृत कारोबार कहिलेदेखि शुरु भएको हो ?
उत्तर
वि.सं. २०७५ वैशाख १९
(मर्जरपछि बैङ्कको १९१ वटा शाखा कार्यालय एवं चुक्ता पूँजी रु. नौ अर्ब ४७ लाख ९५ हजार पुगेको)

५. ‘योगमाया’ नामक औपन्यासिक कृतिका सर्जक को हुन् ?
उत्तर
नीलम कार्की निहारिका

६. लोकसेवा आयोगद्वारा वस्तुगत बहुउत्तर उत्तरपुस्तिको परीक्षणमा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिको शुरुवात कहिलेबाट गरिएको हो ?
उत्तर
वि.सं. २०६९ भदौ ७
(लोकसेवा आयोगले विद्युतीय प्रणालीबाट दरखास्त सङ्कलनको शुरुवात वि.सं. २०७१ चैत २३ देखि गरेको ।)

७. राष्ट्रिय महिला आयोगद्वारा निःशुल्क हेल्पलाइन सेवा ‘खवर गरौं ११४५’ कहिलेदेखि सञ्चालन गरिएको हो ?
उत्तर
वि.सं. २०७४ मङ्सिर २५

८. सरकारले नेपाल भ्रमण वर्ष–२०१८ को मिति संशोधन गरी कहिले मनाउने निर्णय गरयो ?
उत्तर
सन् २०२०
सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर दश लाख पर्यटक भित्र्याउने घोषणा गरिएकोमा पर्याप्त तयारी नपुगेको भनी नेपाल भ्रमण वर्ष सन् २०२० मा सार्ने निर्णय (२०७४ साउन २९ मा) गरिएको । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२० मा मनाउने भ्रमण वर्षको तयारी भने सन् २०१८ बाटै प्रारम्भ गर्ने निर्णय गरिएको । यसक्रममा सन् २०१८ र २०१९ लाई तयारी तथा पर्यटन प्रवर्द्धन अभियान वर्ष घोषणा गरिएको । सन् २०१६ मा नेपालमा पर्यटक आगमन सङ्ख्या ७ लाख ५३ हजार रहेकोमा सन् २०२० मा १५ लाख पु-याउने लक्ष्य (सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई संशोधन गरेको ) । सन् २०१६ मा नेपालमा आउने पर्यटकहरूको औसत बसाइ अवधि १३.४ दिन रहेकोमा सन् २०२० मा १५ दिन पु-याइने ।

९. पारिजात सिर्जना सम्मान-२०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
उत्तर
समालोचक डिआर पोखरेल
(त्यस्तै, पारिजात सङ्घर्षशील नारी सम्मानबाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मानबाट शान्तकुमार राई (मरणोपरान्त) र पारिजात बालसाहित्य सम्मानबाट प्रभात सापकोटा सम्मानित भएका ।)

१०. मिस नेपाल २०१८ को उपाधि चुम्ने युवती को हुन् ?
उत्तर
शङखला खतिवडा

११. नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
उत्तर
वि.सं. २०७३ फागुन १५
(सो अस्पतालको बहिरङ्ग सेवा फागुन १५ देखि सर्वसाधारणका लागि पनि खुला गरिएको हो। यसअघि सो अस्पतालले सैनिक कर्मचारी तथा उनीहरूका परिवारलाई मात्र स्वास्थ्य उपचार सेवा दिंदै आएको थियो । महाशिवरात्रि तथा सेना दिवस २०७३ र स्वास्थ्य सेवा दिवस २०७३ को अवसर पारेर सेनाले सो सेवा शुरु गरेको हो ।)

१२. लैगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ?
उत्तर
सन् २०१८ अप्रिल
नेपाल पहिलोपटक सो संस्थाको बोर्ड सदस्यमा निर्वाचित (सन् २०१९-२०२१ का लागि) भएको । बोर्ड सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट छनोट भएका अन्य राष्ट्रमा भारत, बङ्गलादेश, साउदी अरेबिया र मङ्गोलिया रहेका । त्यसैगरी, आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगको सदस्यमा पनि नेपाल निर्वाचित भएको । आयोगमा एसिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्यान्ड र इरान निर्वाचित भएका। 

१३. वल्र्ड इकोनोमिक फोरमद्वारा सन् २०१८ मा सार्वजनिक समावेशी विकास सूचकाङ्कमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
उत्तर
२२ औं
(उक्त सूचीमा परिपक्व अर्थतन्त्र भएका राष्ट्रहरूमा नर्वे, आइसल्यान्ड, लक्जेम्बर्ग, स्वीट्जरल्यान्ड र डेनमार्क पहिलो पाँच स्थानमा परेका । त्यस्तै, उदीयमान अर्थतन्त्र भएका पहिलो पाँच राष्ट्रमा क्रमशः लिथुआनिया, हङ्गेरी, अजरबैजान, लात्भिया र पोल्यान्ड रहेका ।)

१४. वि.सं. २०७४ मा मनाइएको राष्ट्रिय शिक्षा दिवसको नारा के हो ? 
उत्तर
सङ्घीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार

१५. वि.सं. २०७२ भदौदेखि बन्द अवस्थामा रहेको विराटनगर जुट मिल कहिलेदेखि पुनः सञ्चालनमा आएको हो ?
उत्तर
वि.सं. २०७४ मङसिर १०

१६. संविधान जारी भएपश्चात संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल कहिले सकिएको हो ?
उत्तर
वि.सं. २०७४ असोज २८

१७. नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न थालेको हालसम्मकै ठूलो सौर्य परियोजनाको उत्पादन क्षमता कति रहेको छ ?
उत्तर
२५ मेगावाट
प्राधिकरणले नुवाकोटको देवीघाटमा २०७५ वैशाख १४ देखि परियोजनाको निर्माण थालनी गरेको । नेपाल सरकार र प्राधिकरणको लगानी एवं विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण हुने सो | परियोजनाको लागत करिब चार अर्ब रुपियाँ रहेको । सो आयोजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको।

१८. सरकारले आ.व. २०७४/७५ को अन्त्यसम्म कति जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने लक्ष्य लिएको छ ?
उत्तर
३९
(वि.सं. २०७४ असोज २५ सम्म नेपालका २२ जिल्लामा यो कार्यक्रम लागू भएको ।)

१९. राणाकालीन समयमा नेपालमा कति जना प्रधानमन्त्रीभएका थिए ?
उत्तर
१० जना

२०. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
उत्तर
वि.सं. २०७४ भदौ ५

२१. नेपाल राष्ट्र बैङ्कले रु दश लाखभन्दा बढीको कारोबार चेकमार्फत मात्र गर्न पाइने व्यवस्था कहिलेदेखि गरेको हो ?
उत्तर
वि.सं. २०७४ साउन १

२२. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ?
उत्तर
५.८९ प्रतिशत

२३. नेपालको सबैभन्दा धेरै देशसँग कूटनीतिक सम्बन्ध कायम भएको वर्ष कुन हो ?
उत्तर
सन् २०१७ (१२ देशसँग)
(यसअघि सबैभन्दा धेरै कूटनीतिक सम्बन्ध सन् १९६० मा ११ देशसँग कायम भएको ।)

२४. नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय कहिले गरिएको हो ?
उत्तर
वि.सं. २०७४ माघ १५

२५. झापाको दमक नगरपालिकाले कुन जातिलाई प्रथम नागरिक घोषणा गरेको हो ?
उत्तर
धिमाल
वि.सं. २०७४ असोज ३० मा बसेको दमक नगरपालिकाको प्रथम नगरसभाले सो घोषणा गरेको । नगरपालिकाले कार्यालय परिसर अगाडि धिमाल जातिको साङ्केतिक प्रतिमासमेत स्थापना गरेको । उक्त प्रतिमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वि.सं. २०७५ वैशाख १९ मा अनावरण गरिएको ।

२६. विश्वकै सानो मुद्रा कुन हो ?
उत्तर
जावा
(विश्वकै सबैभन्दा सानो मुद्राको रेकर्ड कायम गर्दै गिनिज बुकमा दर्ता भएको यो मुद्वा जयप्रकाश मल्लद्वारा निकालिएको थियो ।)

२७. नेपाल राष्ट्र बैङ्कका अनुसार पूर्वाधार विकास बैङ्कको न्यूनतम चुक्ता पूँजी कति तय गरिएको छ ? ।
उत्तर
रु. २० अर्ब 
पूर्वाधार विकासका लागि स्वदेशमै आवश्यक पूँजी उपलब्ध होस् भन्ने उद्देश्यले लामो सययदेखि चर्चामा रहेको पूर्वाधार विकास बैङ्कको ‘लाइसेन्स’ का लागि नेपाल राष्ट्र बैङ्कले २०७४ साउन २७ देखि आवेदन खुला गरेको छ । पूर्वाधार बैङ्क खोल्न चाहने व्यक्ति वा संस्थाले यस्तो बैङ्क पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता गराउनुपर्ने व्यवस्था रहेको । विदेशी बैङ्क वा वित्तीय संस्थाको संयुक्त लगानी नरहने बैङ्कको हकमा यस्तो बैङ्कमा संस्थापक समूहको न्यूनतम ५१ प्रतिशत र सर्वसाधारण समूहको न्यूनतम ३० प्रतिशत सेयर लगानी हुनुपर्ने । पूर्वाधार विकास बैङ्कमा गैरआवासीय नेपालीले पनि लगानी गर्न सक्ने तथा विदेशी लगानीकर्ताले न्यूनतम २० देखि अधिकतम ८५ प्रतिशत लगानी गर्न सक्ने प्रावधान रहेको । पूर्वाधार विकास बैंक स्थापनासम्बन्धी व्यवस्थाले मुलुकमा वैदेशिक पूँजी, प्रविधि, व्यवस्थापन, सीप र व्यावसायिक कार्यसंस्कृतिसहित पूर्वाधार क्षेत्रमा लगानी बढ्ने विश्वास गरिएको ।

२८. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको शुरुवात कहिलेदेखि गरेको हो ?
उत्तर
वि.सं. २०७४ मङसिर १

२९. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्विक एक्सन टिम)को गठन कहिले गरिएको हो ?
उत्तर
वि.सं. २०७४ मङ्सिर १

३०. वि.सं. २०७५ वैशाख ११ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय ग-यो ?
उत्तर
डा. पुष्पराज कँडेल

३१. बूढीगण्डकी जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? |
उत्तर
१२०० मे.वा.
धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने यो जलविद्युत् आयोजनाको जलाशय फेवातालभन्दा करिव १४ गुना ठूलो हुने एवं बाँधको उचाइ २६३ मिटर हुने ।। वि.सं. २०७४ मङ्सिर ८ को मन्त्रिपरिषदको निर्णयअनुसार यो आयोजना नेपाल विद्युत् प्राधिकरणले बनाउने भएको । चीनको गेजुवा कम्पनीलाई निर्माणको जिम्मा दिने वि.सं.२०७४ जेठ ९ को नेपाल सरकारको निर्णय वि.सं. २०७४ कात्तिक २७ मा खारेज गरिएको । यो आयोजना आठ वर्षीभत्र सम्पन्न गर्ने लक्ष्य रहेको।

३२. पाटनको सुन्दरीचोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
उत्तर
वि.सं. २०७४ कात्तिक १२

३३. सर्वोच्च अदालतद्वारा सरोगेसी सेवालाई अनुमति नदिने फैसला कहिले गरिएको हो ?
उत्तर
वि.सं. २०७४ पुस २१

३४. राष्ट्रिय योजना आयोगद्वारा दोस्रो बहुपक्षीय पोषण आयोजना (सन् २०१८-२०२२) कहिले सार्वजनिक गरियो ?
उत्तर
वि.सं. २०७४ मङ्सिर २८
(पहिलो बहुपक्षीय पोषण योजना : सन् २०१३-२०१७) सो पोषण आयोजना अनुसार सन् २०२२ सम्ममा कुपोषणलाई २४ प्रतिशतमा झार्ने, पाँच वर्षमुनिको पुड्कोपन ३६ प्रतिशतवाट २० प्रतिशतमा झार्ने, कम तौल भएका बालबालिकाको अनुपात २७ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।) । सो योजना देशभर नै सञ्चालन हुने ।

३५. राष्ट्र बैङ्कको अनुमतिबिना वित्तीय संस्थाहरूले विदेशी निकायको पुरस्कार वा सम्मान ग्रहण गर्न नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?
उत्तर
वि.सं. २०७४ पुस ११

३६. नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिद्वारा ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेर हदबन्दी लागू गर्ने निर्णय कहिले गरिएको हो ?
उत्तर
वि.सं. २०७४ असोज ८

३७. नेपालमा सर्वप्रथम विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ?
उत्तर
नविल बैङ्क (वि.सं. २०७४ भदौ २३)

३८. नेपालमा हाल सञ्चालित औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा पछि स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?
उत्तर
राजविराज औद्योगिक क्षेत्र

३९. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ?
उत्तर
एक हजार चार डलर  
(तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब एक लाख छ हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर रहेको । कुल राष्ट्रिय आय अनुसार भने प्रतिव्यक्ति आय एक हजार १२ डलर पुगेको । त्यस्तै विभिन्न बाह्य देशबाट भएको आम्दानीसमेत जोड्दा प्रतिव्यक्ति आय १२ सय ९४ डलर पुगेको । जुन गत वर्ष एक हजार १५६ डलर थियो ।)

४०. वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४ २०७७ ७८) मा बैकिङ क्षेत्रका कतिवटा रणनीतिक स्तम्भ समेटिएका छन् ?
उत्तर
चार
(१. आर्थिक वृद्धिका लागि लगानी,
२. वित्तीय पहुँच र समावेशीकरण,
३. वित्तीय स्थायित्व र
४. संस्थागत सुशासन ।)

४१. नेपाल राष्ट्र बैङ्कले ब्याजदर करिडोर कहिलेदेखि लागू गरेको हो ?
उत्तर

वि.सं. २०७४ कात्तिक २९

अन्तर्राष्ट्रिय-सन्दर्भ

४२. इराकी प्रधानमन्त्री हैदर अल अवादीले जिहादी (आईएस) विरुद्ध युद्ध अन्त्यको घोषणा कहिले गरेका हुन् ?
उत्तर
सन् २०१७ डिसेम्बर ९

४३. विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएका पाँच राष्ट्र कुन-कुन हुन् ?
उत्तर
चीन, भारत, अमेरिका, इन्डोनेसिया र ब्राजिल
– संयुक्त राष्ट्रसङ्घले विश्व जनसङ्ख्या दिवस (जुलाई ११) को अवसर पारेर प्रकाशित गरेको जनसङ्ख्यासम्बन्धी प्रतिवेदन अनुसार हाल विश्वको जनसङ्ख्या झन्डै सात अर्ब ५० करोड पुगेको ।
– विश्वको कुल जनसङ्ख्याको आधा हिस्सा पाँच वटा राष्ट्र (चीन, भारत, अमेरिका, इन्डोनेसिया र ब्राजिलमा मात्र रहेको ।
– भ्याटिकन सिटी, नाउरु, तुभालु, पलाउ, सानमारिनोको कुल जनसङ्ख्या जम्माजम्मी ८० हजार रहेको ।
– वल्र्ड पपुलेसन ब्युरोको एक तथ्याङ्कअनुसार विश्वमा हरेक मिनेटमा करिब २४० वच्चाको जन्म हुने तथा हरेक मिनेटमा करिब १०५ व्यक्तिको मृत्यु हुने।

४४. आर्थिक सहयोग तथा विकास सङ्गठन (Organization of Economic Co-operation and Development-OECD) को स्थापना कहिले भएको हो ?
उत्तर
सन् १९६१ सेप्टेम्बर ३०
तेस्रो विश्व समूहका अविकसित राष्ट्रहरूको आर्थिक उन्नतिमा सहयोग गर्ने एवं विश्व व्यापार र आर्थिक प्रगतिलाई अभिवृद्धि गर्ने उद्देश्यले स्थापित यस सङ्गठनमा अमेरिका, युरोप तथा एसियाका विकसित राष्ट्रहरू सदस्य रहेका छन् । यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ।

४५. विश्व इतिहासमा शान्तिपूर्ण बौद्धिक आन्दोलन, अनुसन्धानात्मक आन्दोलन एवं धर्म निरपेक्ष आन्दोलनका रूपमा चिनिने पुनर्जागरण आन्दोलन कुन देशबाट शुरु भएको थियो?
उत्तर
इटाली

४६. युरोपेली सङ्घ दिवस कहिले मनाइन्छ ?
उत्तर
मे ९

४७. विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् २०१८ मे २ मा जेनेभामा सार्वजनिक प्रतिवेदनअनुसार विश्वको सबैभन्दा प्रदूषित शहर कुन हो ?
उत्तर
भारतको कानपुर

४८. उत्तर र दक्षिण कोरियाली नेताहरूले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्रमुक्त पार्ने वाचा गर्दै करिब सात दशक लामो युद्ध अन्त्य गर्नेसम्बन्धी सहमतिपत्रमा कहिले हस्ताक्षर गरेका हुन् ?
उत्तर
सन् २०१८ अप्रिल २७
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली नेता मुन जाय इनले अप्रिल २७ मा सीमाक्षेत्र पानमुनजोममा सो सहमति गरेका । सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने शान्ति सन्धि यसै वर्ष गर्ने सहमतिसमेत दुई नेताले गरेका । सन् १९५० देखि सन् १९५३ सम्म भएको कोरियाली युद्धपछि अहिलेसम्म शान्ति सम्झौता नभएको । दुवै देश प्राविधिक रूपमा युद्धकै अवस्थामा रहेका तर आगामी दिनमा कुनै युद्ध नहुने दुवै नेताले वाचा गरेका ।। सन् १९५३ मा दुई कोरियाबीचको युद्धविरामपश्चात दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोङ उन पहिलो उत्तर कोरियाली नेता बनेका । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दक्षिण कोरियाली भूमिमा टेकेर आफ्ना समकक्षीसँग हात मिलाउने किम पहिलो उत्तर कोरियाली सर्वोच्च नेता बनेका । दक्षिण कोरियाली भूमि टेकेका किमले मुनलाई पनि त्यसैबेला उत्तर कोरियाली भूमिमा लगेका । शिखर बैठकपछि जारी घोषणापत्रमाः केइसोड क्षेत्रमा सञ्चालित संयुक्त औद्योगिक केन्द्रमा सम्पर्क कार्यालय स्थापना गरिने, दुई कोरियाबीचको विभाजनका बेला अलग्गिएका परिवारलाई पुनर्मिलन गराइने, सीमा क्षेत्रमा लाउड स्पिकरको प्रयोग गरी हुने प्रचार-प्रसारलाई रोकिने, राष्ट्रिय मेलमिलाप र एकता पुनः जागृत गरिने, दुवै देशका रक्षा मन्त्रालयबीच नियमित वैठक गरिने लगायतका विषय समेटिएको ।

४९. रोहिङ्ग्या शरणार्थी फिर्ता सम्बन्धमा म्यानमार र बङ्गलादेशबीच भएको सहमति अनुसार कुन अवधिसम्म शरणार्थी फिर्ता गरिसक्ने उल्लेख छ ?
उत्तर
दुई वर्ष
(सन् २०१८ जनवरी १७ मा सोसम्बन्धी सहमति भएको । सहमतिअनुसार दैनिक तीन सय शरणार्थी फिर्ता लैजाने र दुई वर्षभित्र सबै शरणार्थी फिर्ता लैजानुपर्ने । पछिल्लो पल्ट सन् २०१७ अगस्ट २५ देखि म्यानमारको उत्तरी राज्य राखिनेमा हिंसा भड्किएको थियो ।)

५०. हरेक वर्ष विभिन्न छ विधामा प्रदान गरिने नोबल पुरस्कार सन् २०१८ मा कुन विधामा प्रदान नगरिने भएको छ ?
उत्तर
साहित्य
(स्विडेनस्थित नोबेल एकेडेमीले सन् २०१८ मे ४ मा यसबारे जानकारी दिंदै अब सन् २०१९ मा मात्र यो पुरस्कार वितरण गर्ने साथै सन् २०१९ मा दुवै पुरस्कार एकैसाथ घोषणा गरिने बताएको ।)

विविध

५१. विष्णुका दश अवतार के-के हुन् ?
उत्तर
मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की

५२. जिका भाइरस कुन प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ ?
उत्तर
एडिस एजिप्टाई
(जिका भाइरस लागेमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, आँखामा सङ्क्रमण हुने हुन्छ । गर्भवती महिलामा यो भाइरसको सङ्क्रमण भए जन्मिएको बच्चाको टाउको सानो हुन्छ। भाइरसले गर्भमा रहेको बच्चाको मस्तिष्क पूर्णरूपमा विकास हुन दिदैन । जसका कारण बच्चा सुस्त मनस्थितिको हुन्छ । लामखुट्टेको टोकाइबाट बच्नु नै यसको रोकथाम हो । यो रोगमा गर्भवती महिलाले बढी सावधानी अपनाउनु पर्ने विज्ञले जनाएका छन् ।)

५३. विश्वको सबैभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?
उत्तर
विम्बलडन टेनिस प्रतियोगिता
(सन् १८७७ मा अल इङ्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलोपटक खेलिएको यस प्रतियोगिताको एक सय ३१ औं संस्करण सन् २०१७ जुन/जुलाईमा लण्डनमा सम्पन्न भएको ।